एमालेले बोलायो आकस्मिक सचिवालय बैठक, सडक आन्दोलन गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०८२, १४ चैत्र

काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले जानकारी दिए । उनले एमालेले आजबाट सडक प्रदर्शन गर्ने बताएका छन् ।

‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो । तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ’ उनले समाजिक सञ्जालमार्फत् भनेका छन् ।

बालेन नेतृत्वको सुधन गुरूङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको उनले टिप्पणी गरेका छन् ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ। प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ उनले भनेका छन् ।

अहिले बिहान ८ः३० वजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइने उनले बताए ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू दुवै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर लगिएको छ ।

प्रतिक्रिया