
काठमाडौं । अमेरिका र इजरायले इरानमा आक्रमण सुरु गरेयता मध्यपूर्व अशान्त छ । अमेरिका र इजरायलले केही दिनयता इरानमाथि लगातार आक्रमण गरिरहेका छन् ।
इरानले पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाउँदै आएको छ । उसको निसानामा इजरेल, बहराइन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू छन् ।
इरानको समर्थनमा लेबननमा सक्रिय सिया मुस्लिम समूह पनि यो युद्धमा सामेल भएर लेबननबाट इजरायलतर्फ रकेटहरू प्रहार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
सन् १९८९ देखि निरन्तर इरानको नेतृत्व गरिरहेका खामेनेई पहिलो चरणको आक्रमणमै मारिएका थिए । इजरायली सेना आईडीएफले खामेनेईसँगै इरानका दर्जनौँ वरिष्ठ अधिकारीहरू र इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)का शक्तिशाली व्यक्तिहरू पनि मारिएका जनाएको छ ।

इरानको रक्षा परिषद्का सचिव अली शाम्खानी, रक्षामन्त्री ब्रिगेडिअर जनरल अजीज नसीरजादेह तथा आईआरजीसीका कमान्डर जेनरल मोहम्मद पकपोरसहित मारिएका सात वरिष्ठ सुरक्षा अधिकारीहरूको नाम इजरायलले सार्वजनिक गरेको छ । आईआरजीसीको नयाँ प्रमुखमा अहमद बाहिदी चयन भएका छन् ।
अहिले इरान इन्टरनेट नेटवर्कबाट सम्पर्कमा छैन भने उसको हवाई मार्ग पनि बन्द छ । इरानको सेनाले पनि जबाफी आक्रमणहरू जारी राखेको छ ।
राजधानी तेहरानसहितका ठाउँमा आक्रमण जारी राखेका अमेरिका र इजरायलले इरानको जलसेनाको मुख्यालय ध्वस्त बनाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । शनिबार इरानका क्षेप्यास्त्र पूर्वाधार, सैनिक इलाका र वरिष्ठ नेताहरूलाई लक्षित गरेर व्यापक आक्रमण गरेका थिए ।
अमेरिका र इजरायलले किन इरानमा आक्रमण गरे ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूको आक्रमणको उद्देश्य ‘इरानले परमाणु अस्त्र तयार नगर्ने सुनिश्चित गर्नु’ भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले उनीहरूको क्षेप्यास्त्र नष्ट गरेर त्यसको उद्योग नै ध्वस्त बनाउने हो ।’
ट्रम्पले अर्को कुरा पनि भनेका छन् । उनले इरानीहरूलाई आफ्नो सरकार ढाल्न आह्वान गरेका छन् । इरानले आफ्नो परमाणु कार्यक्रमबारे नयाँ सम्झौता नगरे सैन्य कारबाही भोग्नुपर्ने हप्तौँ लामो अमेरिकी चेतावनीपछि यो बृहत् आक्रमण चलिरहेको छ । इरानले चाहिँ आफ्नो परमाणु गतिविधि पूर्णतः शान्तिपूर्ण कामका लागि भएको बताएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानी सत्ताका सुरक्षा उपकरण निष्क्रिय बनाएर तत्काल चुनौती देखिएका क्षेत्रलाई प्राथमिकीकरण गरिने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ‘इरानको आतङ्कवादी सत्ताबाट उत्पन्न अस्तित्वको जोखिम हटाउन’ कारबाही सुरु गरिएको बताएका छन् ।
इरानले कसरी प्रतिकार गरिरहेको छ ?
इरानले इजरायलसहित अमेरिकासँग सम्बन्ध भएका मध्यपूर्वका विभिन्न देशहरूमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ । आईआरजीसीले तेल अभिभ र अन्य स्थानमा रहेका इजरेली सरकार र सेनाका इलाका लक्षित आक्रमण गरिएको बताएको छ ।
यूकेको रक्षा मन्त्रालयले साइप्रसमा रहेको ब्रिटिश सेनाको एअर बेसमा ड्रोन आक्रमण भएको जनाएको छ । ओमान र साउदी अरबसहित अमेरिकी सेनाका एअर बेस रहेका बाहरेन, कतार, यूएई र कुवेत पनि निसानामा परेका छन् ।
सोमबार पनि दुबई, दोहा र मनामासहितका सहरमा थप आक्रमण भए । इरानले कुवेत र हिन्द महासागरमा रहेका अमेरिकी एअर बेसमा आक्रमणका लागि १५ वटा क्रूज क्षेप्यास्त्र प्रयोग गरिएको जनाएको छ ।
दुबईका होटलसहित गैरसैनिक क्षेत्र पनि इरानको आक्रमणको निसाना बनेका छन् । अमेरिका र उसका सहयोगीहरूले खाडी राष्ट्रहरूमा भएका आक्रमणको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् । सोमबर कुवेतमा तीन वटा अमेरिकी विमान खसालिएका थिए । तर, आफ्नै तर्फबाट झुक्किएर भएको आक्रमणमा विमान खसालिएका अमेरिकी सेनाको दाबी छ ।
