
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेबाट देशर मतदान सुरु भएको छ । आज बिहान ७ बजेदेखि बजेसम्म देशका ७७ वटै जिल्लामा एकै चरणमा मतदान सुरु भएको हो । आज प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थान गरी २७५ स्थानका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। १४३ अस्थायी मतदानस्थल तय गरिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन्। आयोगका सचिव कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरबाट संकलन गरी गणना स्थलमा पुर्याउने जानकारी दिए। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करिब ९ लाख मतदाता नयाँ थपिएका छन्। निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा ९ लाख बढी मतदाता थपिएका छन्।
