पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरिँदै, ओलीको पनि समर्थन
अखबार टुडे
प्रकाशित:
२०८२, २७ भाद्र

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

शीतल निवास स्रोतका अनुसार कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी गरिएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श गरेका थिए ।

बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्तरूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पनि छलफल गरेका थिए । उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराएका थिए ।

ओलीले पनि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमति जनाएको स्रोतको भनाइ छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलले संविधानकै बाटोबाट कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागिएको बताएपछि ओली ‘ठीकै छ’ भनेका थिए ।

साथै? राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरेका थिए ।

जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरेकी थिइन् । मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल भएको थियो ।

प्रतिक्रिया