
काठमाडौं । जेनजीले सुरू गरेको आन्दोलन देशभर फैलँदैछ । काठमाडौंबाट सुरू भएको आन्दोलन सोमबार नै सातै प्रदेशका मुख्य सहरमा फैलिएको थियो । आज बिहानदेखि जिल्ला–जिल्लामा प्रदर्शन सुरु भएको छ । प्रदर्शनको पहिलो दिन सोमबार काठमाडौं र इटहरीमा १९ जनाको प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसपछि मंगलबार प्रदर्शन देशव्यापी फैलिएको हो ।
कहाँ के के भयो ?
प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान आगजनी गरेका छन् । यस्तै, परराष्ट्र मन्त्रीसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा मन्त्री निवासमा नबसी सोही घरमा बस्दै आएकी थिइन् । प्रदर्शनकारीले देउवा निवासअगाडि प्रदर्शन र आगजनी गरेको प्रहरीले जनाएको छ । यस्तै, देउवाको धनगढीस्थति घरमा पनि आगजनी भएको छ ।
यस्तै, ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको छ। मंगलबार प्रदर्शनकारीहरूले ऊर्जा मन्त्री खड्काको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी र तोडफोड भएको छ । ललितपुरको ढोलाहिटीस्थित गुरूङको घरमा मंगलबार बिहान आगजनी र तोडफोड भएको हो ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पनि तोडफोड भएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा मंगलबार बिहान तोडफोड भएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रदर्शनकारीले निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा पनि आगजनी गरेका छन् । लेखकको नैकापस्थित घरमा मंगलबार मध्याह्न प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गर्दै घरभित्र रहेका सामान निकालेर जलाएका थिए । सो क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
यस्तै, एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित निवासमा मंगलबार प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका नेतृ एवं परराष्ट्रमन्त्री आरजु देउवा अध्यक्ष रहेको ललितपुरस्थित युलेन्स स्कुलमा पनि आगगनी भएको छ । मंगलबार बिहान आगजनी भएको खबर आएपछि प्रहरीले दमकल पठाइएको बताएको छ ।
यस्तै, कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयअगाडि पनि प्रदर्शन भएको छ। मंगलबार मध्याह्न प्रदर्शनकारीहरूले कार्यालयअघि प्रदर्शन गरेका हुन् । पार्टी कार्यालयमा रहेको मोटरसाइकलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा प्रदर्शनकारीहरूले मंगलबार आगजनी गरेका छन्। उनी कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका कार्यालयमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।\
यस्तै, प्रदर्शनकारीले एमालको च्यासलस्थित मुख्यालय र झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
यस्तनै, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा पनि तोडफोड भएको छ । सो क्रममा प्रहरीले गोली चलाएको छ । बालकोट पुगेका आन्दोलनकारीले तोडफोड तथा आजगनी गरेपछि सुरक्षाकर्मीले गोली चलाएको बताइएको छ ।
