
काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबु क्षेत्रमा छापा मारी करिब सवा चार करोड रूपैयाँ नगदसँगै ९ किलो सुन बरामद गरेको छ ।
प्रहरीले मंगलबार दिउँसो ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गोंगबुस्थित तीनतले घरमा छामा मारेको थियो । त्यहाँबाट चार करोड २५ लाख ५० हजार रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । ठूलो रकम बरामद भएपछि प्रहरीले बैंकबाट नगद गन्ने मेसिन ल्याएको थियो ।
घर धनी विनोदले पैसा मिटरब्याजमा लगाउने र सुन धितोका रूपमा लिने गरेको प्रहरीको आरोप छ । अहिले बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
सोही घरमा खोजी गर्दा प्रहरीले विभिन्न गरगहना पनि बरामद गरेको छ । प्रहरीका अनुसार सुनका गहनामात्रै ९ किलोभन्दा बढीको बरामद भएको छ । साथै, चाँदीका गरगहना बरामद भएको छ । बरामद भएको चाँदी ३ किलो बढी भएको प्रहरीले बताएको छ ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली विनोदको घरमा छापा मारेको हो ।
