त्रिभुवन विमानस्थलमा आजदेखि खटिए नयाँ ४५ जना अधिकृत
अखबार टुडे
प्रकाशित:
२०८२, ६ श्रावण

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ जना नयाँ अधिकृतलाई खटाएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। घिमिरे आजदेखि हाजिर भएका हुन् ।

‘लोक सेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,’ उनले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।’

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।
त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ ।

‘विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।’

प्रतिक्रिया