अहमदाबादमा विमान दुर्घटना : दुई सयभन्दा बढी शव फेला, एकजना जिवितै उद्दार
अखबार टुडे
प्रकाशित:
२०८२, ३० जेष्ठ

काठमाडौं । भारतको अहमदाबाद सहरबाट लन्डनको ग्याटविकतर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७–८ ड्रिमलाइनर यात्रुवाहक विमान उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको छ ।

एअर इन्डियाले सो दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको जनाएको छ । तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए ।

अहमदाबाद सहरका प्रहरी प्रमुखले विमान दुर्घटनास्थलबाट हालसम्म २०० वटाभन्दा बढी शवहरू निकालिसकिएको जानकारी दिएका छन् । उनका अनुसार घाइते भएका ४० जनाभन्दा बढीलाई अस्पतालहरूमा लगिएको थियो ।

जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ । उनी बेलायतमा आफ्नी छोरी भेट्न जाँदै थिए भनेर भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहमदाबादस्थित सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जान लागेको जहाज उडेको दुई मिनेटमै दुर्घटना भएको थियो । उक्त जहाज धावनमार्ग छोडेर केही उचाइ माथि जानेबित्तिकै बिस्तारै तल झर्न थालेको थियो । जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडिओ खिचेका थिए । उक्त भिडिओका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ ।

त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन्। त्यहाँका १५ जन डाक्टर पनि घाइते भएका छन् । जहाज घरमाथि जोतिनेबित्तिकै ठूलो विस्फोटको आवाजसहित आगोलागी भएको थियो । आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन् ।

चालक दलका सदस्यसहित २४२ जना रहेको उक्त जहाज दुर्घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ लागेका छन्। उनीहरू दुवैको गृहराज्य गुजरात नै हो ।

एयर इन्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन । घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको थियो । उद्धार टोली जहाजमा लागेको आगो निभाएर शव निकाल्न लागेका छन् । शव अहमदाबादको सरकारी अस्पतालमा राखिएको छ ।

एकजना जिवितै उद्दार
एयर इन्डियाको विमान दुर्घटनाग्रस्त हुँदा २४२ यात्रुमध्ये ४० वर्षीय विश्वास कुमार रमेश जीवित उद्धार गरिएको छ । । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।

एअर इन्डिया के भन्छ ?

एअर इन्डियाले दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने बताएको छ।

एअर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले एक्समा लेखेका छन्, ूम गहिरो दुस्खका साथ आज अहमदाबादबाट लन्डन ग्याटविकतर्फ जान लागेको एअर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको जानकारी दिँदैछु।

उनले उक्त पीडादायी घटनाबाट प्रभावित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्नमा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए ।

प्रतिक्रिया