
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन्ले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । यस्तै अन्य ८ मुलुकलाई पनि आंशिक प्रतिबन्ध लगाइएको अमेरिकी मिडिाया सीएनएनले जनाएको छ ।
समाचार अनुसार बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ ।
‘हामी हाम्रो देशलाई नोक्सानी पु¥याउन चाहनेहरूलाई प्रवेश अनुमति दिँदैनौं,’ ट्रम्पले ट्रुथ सोसलमा भिडिओ सन्देश जारी गर्दै भनेका छन् । प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा थप संशोधन हुन सक्ने पनि ट्रम्पले बताएका छन् । उनले प्रतिबन्ध लगाइएको देशहरूको सूचीमा अरू देशहरु पनि थपिन सक्ने भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने बताइएको छ ।
ट्रम्पले यात्रा प्रतिबन्ध लगाइएका यी देशहरुमा आतंकवादको ठूलो उपस्थिति रहेको दाबी गरेका छन् । त्यहाँ भिसा सुरक्षामा सहयोगको कमी रहेको, यात्रुको पहिचान पुष्टि गर्ने क्षमता अभाव रहेको र आपराधिक इतिहासको पर्याप्त अभिलेख नभएको बताएका छन् ।
अमेरिकाको यो घोषणापछि सोमालियाले तत्कालै सुरक्षा मुद्दाहरू सम्बोधन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको रोयटर्सले उल्लेख गरेको छ । सोमाली राजदूत दाहिर हसन अब्दीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सोमालिया अमेरिकासँगको लामो सम्बन्धलाई महत्त्व दिन्छ र सुरक्षाको दृष्टिले उठाइएका चिन्ताहरूलाई सम्बोधनका लागि संवाद गर्न तयार छ ।’
