गृहमन्त्री लेखक भन्छन्- मैले न्याय त माग्न पाउनुपर्ला नि !
अखबार टुडे
प्रकाशित:
२०८२, १५ जेष्ठ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफू पदबाट राजीनामा नदिने बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा मागिएको तर्क गरे ।

कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने व्यवस्था चल्न नसक्ने उनको भनाइ छ । ‘संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा त्यो अनुसन्धानले पूर्णता नै नपाउँदा यदि सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोड्ने हो प्रचार प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ सम्भव छ ?’ उनले भने ।

यदि पार्टीको एक कार्यकर्तामाथि अनुसन्धान भयो भने पार्टी अध्यक्ष वा सभापतिले राजीनामा गर्नुपर्ने, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्यो भने स्थिति के हो ? कुनै विषय उठ्न सक्छ त्यसलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पुग्नुपर्छ ।

विगतमा विभिन्न विषयमा सञ्चारमाध्यममा समाचार आएका र केहीले अख्तियारले अनुसन्धान गरी अभियोजनसमेत गरेका अवस्था थियो । त्यस्तो अवस्थामा नेतृत्वले पद त्याग गरेको छैन । मैले कसैको नाम लिएर आग्रह पूर्वाग्रह राख्नु छैन ।’

गृहमन्त्री लेखकले आफूले न्याय पाउनुपर्ने पनि बताए । उनले भने, ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ! कि नागरिकले न्याय नपाउने हो देश यो ? मेरो विरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ? तर मैले न्याय त माग्न पाउनुपर्ला नि । यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला । मैले कसैमाथि दोषारोपण गरेको छैन ।’

मन्त्री लेखकले आफूलाई निरुत्साहित गर्न खोजिएको पनि बताए । उनले भने, ‘मजस्तो निष्ठाको राजनीति गर्ने मानिसलाई निरुत्साहित गर्ने उद्देश्यले आरोपित गर्नेबाहेक अन्य कुनै पनि मनसाय छैन । यो षड्यन्त्रबाहेक अरू केही होइन ।’

भिजिट भिसा प्रकरणमा अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थ भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । यसलाई लिएर गृहमन्त्रीको राजीनामा मागिएपछि उनले पत्रकार सम्मलेनमार्फत स्पष्टीकरण दिइरहेका छन् ।

प्रतिक्रिया