
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहितलाई दायर मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।
आयोगले उनीहरुविरुद्ध टेरामक्स खरिदमा योग्यता नपुगेका प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेशअनुसार कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोग लगाएको छ ।
अख्तियारका अनुसार तत्कालीन सञ्चारमन्त्री बस्नेत, दूरसञ्चारका तत्कालीन अध्यक्षहरू झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, तत्कालीन निर्देशक विजयकुमार राय र उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोट, अच्युतानन्द मिश्रलार्ई प्रतिवादी बनाइएको छ ।
यस्तै, निर्देशकहरू सुरेन्द्रलाल हाडालाई, दीपेश आचार्य, सन्दीप अधिकारी, परामर्शदाता भ्यानराइज सोल्युसन्स र कम्पनीका सीईओ जमल अनोन्ती साथै परामर्शदाता कम्पनीका लोकल एजेन्ट कनेक्सन ट्रेड प्रालि काठमाडौं साथै अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ ।
