
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल (नास्ट) र असंलग्न तथा अन्य विकासशील देशहरूको विज्ञान तथा प्रविधि केन्द्रको संयुक्त आयोजनामा ‘विज्ञान र प्रविधि सूचना व्यवस्थापन प्रणालीः अभ्यास र अनुभवहरू’ बिषयमा ३ दिने अन्तर्राष्ट्रिय कार्यशाला ललितपुरको गोदावरीमा बुधवारबाट सुरु भएको छ ।
कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल र नेपालजस्ता देशहरुमा विज्ञान तथा प्रविधिको महत्व बढ्दै गएको र सरकारले पनि सोहीअनुसार काम गर्नुपर्ने धारणा राखे ।
उनले आजको विज्ञान तथा विज्ञानसम्बन्धि अध्ययन अनुसन्धान देश र जनताको पक्षमा हुनुपर्ने धारणा राख्दै कतिपय समस्याहरु हाम्रो नियन्त्रण भन्दा बाहिर रहेको पनि बताए । उनले भने, ‘जलवायु परिवर्तन हाम्रो कन्ट्रोलभन्दा बाहिर छ, राम्रो वैज्ञानिकलाई देशमा राख्न सक्दैनौँ, अझ राम्रो युवालाई नै देशमा राख्न सक्दैनौँ ।’
कार्यक्रममा नास्टका सचिव डा रविन्द्रप्रसाद ढकालले सो कार्यक्रम विज्ञान तथा प्रविधिको क्षेत्रमा विकासशील देशहरुमा भएका साझा समस्या पहिचान गर्न तथा तथ्यांकको सामुहिक उपयोगिताको बारेमा छलफल गर्न महत्वपुर्ण भएको बताए ।
उद्घाटन सत्रको समापन गर्दै नास्टका उप–कुलपति प्राध्यापक डा दिलिप सुब्बाले कार्यक्रममा आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सक्रिय सहभागिता जनाउन सम्पूर्ण सहभागीहरुलाई अनुरोध गरेका थिए ।
नेपालमा यस्ता कार्यक्रम हुनु आफैँमा राम्रो भएको र नेपाली वैज्ञानिकहरुले आफुले अध्ययन गरेको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय विज्ञहरुसँग प्रत्यक्ष रुपमा छलफल गर्न र अन्य अवसरहरुको बारेमा जानकारी लिन सक्ने सहभागीमध्येका नास्टका भूकम्पविद डा शिव सुवेदीले बताए ।
उक्त कार्यक्रममा ८ देशका ३५ जना वैज्ञानिकहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्दैछन भने १४५ जनाले सहभागिता जनाएका छन् । कार्यशाला शुक्रबारसम्म चल्नेछ ।
