रवीन्द्र र दुर्गालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
अखबार टुडे
प्रकाशित:
२०८२, १४ बैशाख

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र र प्रसाईंसहित २४ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

प्रहरीको माग बमोजिम सरकारी वकिलहरूले भने २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए ।
पछिल्लोपटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो । तर, अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो ।

प्रहरीले भने अनुसन्धान गर्नुपर्ने थप विषयहरु अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । इजलासमा मिश्रले ‘आफ्नो नाक अगाडि नै प्रहरीले अश्रुग्यास खसालेर नवराज सुवेदी समेत घाइते भएपछि आफू केही आवेगमा आएको’ बताएका थिए । तर, ढुंगामुढा वा तोडफोड गर्न आफूले कहिल्यै नभनेको उनले जिकिर गरेका थिए ।

यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य संवेदनशीलताप्रति ख्याल गर्दै त्यस्तो आदेश गरेको थियो । अदालतमा मिश्र र प्रसाईंले स्वास्थ्य कारण देखाउँदै आफूहरुलाई हाजिर जमानतमा छाड्नुपर्ने मागसहित निवेदन समेत दिएका थिए ।

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ वैशाखमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणालाई भने प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि नै छाडेको थियो ।

प्रतिक्रिया