
काठमाडौं । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।
नेपाल शिक्षक महासंघले भने ६० जना शिक्षक घाइते भएको जनाएको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ‘नियोजितरूपमा शिक्षकमाथि गरिएको आक्रमण’मा परी ६० जना घाइते भएको दाबी गरिन् ।
उनले भनिन् ‘म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजितरूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास ग¥यो । सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार ग¥यो । त्यसपछि माहोल बिथोलियो ।’
विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो ।
यता प्रहरीले भने २६ जना घाइते भएको जनाएको हो । झडपका क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु पछिल्लो पटक गत चैत २० गतेदेखि आन्दोलनरत छन् । शिक्षक महासंघ नेपालले यस पटक निर्णाय आन्दोलन गर्ने बताउँदै आएको छ ।
