
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ । वार्तामा बसेपनि आन्दोलन भने नरोक्ने महासंघले बताएको छ ।
बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग आज वार्ता गर्न शिक्षक महासंघ तयार भएको हो ।
यसअघि शिक्षक महासंघले सरकारसँग वार्ता अस्वीकार गर्दै आएको थियो । पटक पटकको आग्रहपछि महासंघ सरकारसँग वार्ता गर्न तयार भएको हो । तर, वार्ताको समय र स्थान भने तय भएको छैन । दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ ।
महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले संवाद र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताउँदै भनिन्, ‘हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ ।’
महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।
महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकार जो सुकैको होस्, सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल बिछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन् । हामी त्यही सोच र व्यवहार विरुद्ध लडिरहेका छौं ।’
उनले कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन सबै आन्दोलनकारी शिक्षक–कर्मचारी साथीलाई आग्रह गरेको बताए । शिक्षकहरूले पछिल्लो पटक २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
