
काठमाडौं । आज होली अर्थात फागू पूर्णिमा । काठमाडौं उपत्यकामा आइतबार आज बिहानैदेखि प्रहरीले ट्राफिक चेकजाँचमा कडाइ गरेको छ । होलीमा सवारी नियम उलंघन हुने गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँच बढाएको हो ।
आजको दिन नियम उल्लंघन गरेको पाइए दिनभर सवारीसाधन होल्ड गरिने प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले मादक पदार्थ सेवनकर्ताभन्दा लागुऔषध सेवनकर्ताबाट हुने दुर्घटनालाई बढी मध्यनजर गर्दै चेकजाँच गरिने बताए । त्यस्ता सवारीचालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइनेगरी नियन्त्रणमा लिइने (होल्ड गरिने) उनले बताए ।
ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ ।
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सीसीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
नेपाल प्रहरीले होली खेल्नेक्रममा अनुशासित र मर्यादित हुन आग्रह गरेको छ । साथै घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह पनि गरेको छ ।
