विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
अखबार टुडे
प्रकाशित:
२०८१, २५ फाल्गुन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका समर्थकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल समेत भएको छ । पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आएका हुन् ।

पूर्वराजालाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर ¥यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

यस्तो पनि दृश्य
पूर्वराजा शाहलाई स्वागत गर्न राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपालगायत विभिन्न राजनीतिक दल र संघसंस्थाहरुका कार्यकर्ता भेला भएर विमानस्थल पुगेका थिए ।

तस्बिर : अनलाइन खबर

सोक्रममा राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्वीर बोकेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्विरकै साइजमा अर्को तस्वीर बोकेका थिए, जहाँ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ फ्रेममा अँटाइएका छन् ।

आदित्यनाथको तस्विर मुन्तिर ‘राजसंस्था पुनस्र्थापना गरौं’ लेखिएको थियो । भारतका नेताको तस्विर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भनी सामाजिक सन्जालमा प्रतिक्रिया आइरहेको छ ।

राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ । ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए ।

प्रतिक्रिया