प्रेम विवाहमा झडप : १९ जना घाइते, प्रहरीको गाडी जलाइयो
अखबार टुडे
प्रकाशित:
२०८१, १३ फाल्गुन

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम विवाहको विषयमा मंगलबार दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । केटीपक्षका सोवराती पवरियाले चलाएको लु१त ७७०० नंको पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएका हुन् । धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुवै खुट्टामा चोट लागेको छ ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरु भएको विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ । केही दिनअघि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो ।

पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो तर केही दिनपछि उनीहरु फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव सुरु भएको हो ।

सोमवार केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए। सोही विषयमा आज झडप भएको हो। केटापक्षका सयौँ मान्छेहरु मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो ।

पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ। केटी पक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया