
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ । गाउँपालिकाको वडा–६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो ।
बर्डफ्लु पुष्टि भएपछि कृषि मन्त्रालयले कृषि फार्मलाई चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ । सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पत्रमार्फत चार किल्लाभित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहि बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको हो ।
