दबाब बढ्दै गयो भने शान्ति प्रक्रिया चाँडै टुंगिन्छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८१, २४ पुष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही राजनीतिक दलले शान्ति प्रक्रियालाई माओवादीविरूद्ध प्रयोग गर्ने हतियारका रूपमा लिएका कारण टुंगिन समस्या भएको बताएका हुन् ।

उनले भने, ‘अघिल्लोपटक पनि अन्तिममा समस्या आयो । यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेको बेलामा अन्तिम समयमा समस्या आएको छ, यसको मुख्य कारण राजनीतिक नै हो । शान्ति प्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा लिएकाले नै यो नटुंगिएको हो ।’

उनले शान्ति प्रक्रियालाई टुंग्याउन अब विस्तारै दबाब बढाउन सडक र सदनमा लैजानुपर्ने बताए । पीडितहरूको पक्षबाट नेतृत्त्व गर्न माओवादी केन्द्र तयार रहेको प्रचण्डको भनाइ छ । पीडितहरूले सरकार र राजनीतिक नेतृत्वलाई शान्ति प्रक्रिया नटुंग्याए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष यत्तिकै जाने खतरा रहेको उनले बताए ।

’दबाब बढ्दै गयो भने शान्ति प्रक्रिया चाँडै टुंगिन्छ। दबाब पुगेन भने राजनीति हावी भएर पीडितका भावनाको जहाँको त्यही रहने खतरा हुन्छ,’ उनले भने । बाह्र बुँदे समझदारी र शान्ति सम्झौता संविधानको अंग भइसकेपछि संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै प्रचण्डले यसमा गम्भीर हुन सरकारलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले आफू युद्ध र क्रान्तिको नेतृत्वकर्ता तथा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने प्रयासमा रहेको पनि बताए । उनले भने, ‘हामीले जसरी बाह्र बुँदे समझदारी र शान्ति सम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ ।’

प्रतिक्रिया