यी हुन् सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर
अखबार टुडे
प्रकाशित:
२०८१, २३ मंसिर

काठमाडौं । विद्रोहीले सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् ।

सन् २०११ मा राष्ट्रपति बसर अल असादविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । लोकतन्त्र समर्थकहरुको यही विरोध पछि गृहयुद्धमा परिणत भयो । यो गृहयुद्धमा सिरिया मात्रै होइन, क्षेत्रीय र विश्वका अन्य शक्ति राष्ट्रहरु पनि जोडिए । त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।

आखिर को हुन् एचटीएस विद्रोही समूहका कमाण्डर ? जसले सिरियाका सरकारी सेनालाई झुकाए र राष्ट्रपति नै देश छोड्न बाध्य भए ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उनीमाथि मानवअधिकार उल्लंघनको आरोप छ । तर, उनी विश्वसामु आफूलाई उदारवादी नेताको रुपमा चिनाउन खोज्छन् ।

सन् २००३ मा अमेरिका र गठबन्धन सेनाले इराकमा आक्रमण गरेपछि अल जुलानी त्यहाँ रहेको अलकायदा विद्रोही समूहसँग जोडिएका थिए । अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराकका राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटाएको थियो । तर, विभिन्न विद्रोही समूहहरुले त्यसको प्रतिरोध गरेका थिए ।

सन् २०१० मा इराकममा अमेरिकी सेनाले अल जुलानीलाई पक्राउ गरेको थियो । उनलाई क्याम्प बुका भनिने कुवेत नजिकको जेलमा राखिएको थियो । सोही जेलमा उनको चिनजान अरु विद्रोही नेताहरुसँग भयो, जसले इस्लामिक स्टेट (आईएस) समूह गठन गरेका थिए । त्यहीँबाट उनको सम्पर्क आईएसका नेता अबु बक्र अल बगदादीसँग समेत भएको बताइन्छ ।\

जेलमुक्त भएपछि अल जुलानीले मिडियामा भनेका छन्– जब सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असादविरुद्ध सशस्त्र संघर्ष सुरु भयो तब अल बगदादीले अल जुलानीलाई त्यहाँ पठाउने गृहकार्य सुरु गरे । अन्ततः अल जुलानीलाई हतियारधारी समूह नुसरा फ्रन्ट अर्थात् जबहत अल–नुसराको कमाण्डर बनाइयो । यसको गोप्य सम्बन्ध इस्लामिक स्टेटसँग थियो । जुलानीको नेतृत्वको युद्धले धेरै ठाउँमा सफलता पनि हासिल ग¥यो ।

सन् २०१३ मा अल जुलानीले नुसरा फ्रन्टको सम्बन्ध आईएससँग तोडेर अलकायदासँग जोडे । यद्यपि सन् २०१६ को एक रेकर्डेड सन्देशमा उनले अलकायदासँग पनि सम्बन्ध तोडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया