काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेल हेर्न कीर्तिपुर केही दर्शक भिडमा च्यापिएर घाइते भएका छन् । शनिबार दिउँसो एनपिएलको उद्घाटन खेल हेर्न आएका पाँचजना दर्शक र दुईजना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी गाउँपालिका–५ घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सितापाइला बस्ने ३२ वर्षीय केशव आचार्य र बैतडीको डिलासैनी गाउँपालिका घर भई सिन्धुपाल्चोक बस्ने २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोट घर घई बानेश्वर बस्ने ३२ वर्षीय प्रेम खड्की घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जयन श्रेष्ठ डिस्चार्ज भइसकेका छन् भने गुल्मीका शिशिर गौतमलाई थप उपचारका लागि नर्भिक अस्पताल पु¥याइएको एसपी अधिकारीले जानकारी दिए ।
त्यस्तै घटनामा केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी भई संघीय ससद सुरक्षा बेस बानेश्वरमा कार्यरत दुईजना प्रहरी जवान घाइते भएका छन् । घाइते प्रहरी जवानहरूमा धादिङको खनियावास गाउँपालिका–३ का २६ वर्षीय अजय तामाङ र जुम्लाको सिन्जा गाउँपालिका–२ का दानबहादुर राउत छन् ।
प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई कीर्तिपुर अस्पतालबाट वीर अस्पताल रेफर गरिएकोमा त्यहाँबाट पनि रेफर गरेर बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ । एसपी अधिकारीका अनुसार उनको टाउकोमा चोट लागेको छ ।
यस्तै, अर्का प्रहरी जवान राउतको भने अवस्था मध्यम छ। उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ । दुवै जना प्रहरी ड्युटीमा खटिएका हुन् कि क्रिकेट हेर्नमात्र गएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।
‘पोसाकसहितका प्रहरीबाहेक सादा पोसाकमा पनि खटाइएको हुन्छ । उहाँहरू ड्युटीमा हुनुहुन्थ्यो कि हुनुनहुन्नथ्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । अरू घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको उनले बताए ।
खेल सुरू भएपछि टिकटलाई लिएर त्रिवि मैदान बाहिर तनाव उत्पन्न भएको थियो । केही दर्शकहरू आफूहरूले टिकट काट्दा पनि भित्र छिर्न नदिएको भन्दै टिकट देखाएर आक्रोशित भएका थिए ।