काठमाडौं । अब धरहरा चढेको २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको हो । शहरी विकास मन्त्रालयका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक र बालबालिका अपाङ्गता भएका व्यक्तिका लासग भने सो रकममा ५० प्रतिशत सहुलियत हुनेछ ।
यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । तर, अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शो शुल्क स्वीकृत गरेको हो ।
मन्त्रालयको प्रस्तावअनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ शुल्क लाग्नेछ ।
त्यस्तै, धरहरामा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ भने धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ ।