राजेन्द्र लिङ्देनको टिप्पणी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा
अखबार टुडे
प्रकाशित:
२०८१, १३ कार्तिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।

तीनवटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको आरोप छ । मंगलबार पार्टीको कीर्तिपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काम कसैले गर्न नहुने बताए ।

उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको बताए । ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो’ अध्यक्ष लिङदेनले भने, ‘अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन ।’

उनले रास्वपाले जित्यो भने के गर्छ ? त्यो पनि थाहा नभएको बताउँदै भने, ‘त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु– नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ?’ उनले उपनिर्वाचनमा जनताले आफ्नो पार्टीलाई साथ दिने पनि दावी गरे ।

प्रतिक्रिया