इरानमाथि इजरायलको हवाई आक्रमण, इराकका सबै विमानस्थल बन्द
अखबार टुडे
प्रकाशित:
२०८१, १० कार्तिक

काठमाडौं, (एजेन्सी) । इजरायलले इरानमाथि हवाइ आक्रमण सुरु गरेको छ । शनिबार बिहान इजरायलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणबाट के–कति मानवीय क्षति भयो भन्ने सार्वजनिक भइसकेको छैन । इरानले अक्टोबर १ मा इजरायलमा आक्रमण गरेको थियो । त्यो बेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इजराइलमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणलाई इरानले इजरायलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो ।

सो आक्रमणपछि इजराइलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए ।

मध्यपूर्वको लडाइँमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इजरायललाई सुझाव दिएको थियो । सोही अनुसार शनिबार बिहान इजराइलले इरानी सैन्य अड्डाहरूलाई मात्र लक्षित गरेर आक्रमण गरेको जनाइएको छ ।

इराकद्वारा सबै विमानस्थल बन्द

इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको सबै हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् ।

इरानको पश्चिमी सीमा इराकसँग जोडिएको छ । क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभएसम्म देशका सबै विमानस्थलको सम्पूर्ण हवाई यातायात र सेवा बन्द गरिएको इराकको सरकारी मिडिया एजेन्सी आईएनएलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

इजरायली हवाई आक्रमण स्थानीय समयअनुसार आज बिहान ५ बजेसम्म तेहरानमा जारी रहेको एक इजरायली अधिकारीले सीबीएस न्यूजलाई बताएका थिए । समाचार एजेन्सी रोयटर्स र एएफपीले सिरियाली सरकारी मिडिया सानालाई उद्धृत गर्दै सिरियाको राजधानी दशमिक नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ ।

प्रतिक्रिया