भीड जम्मा पारेर छानविन प्रभावित नपार्न रास्वपालाई चेतावनी
अखबार टुडे
प्रकाशित:
२०८१, ७ कार्तिक

काठमाडौं । सत्तारुढ दलले भीड जम्मा पारेर छानविन प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई चेतावनी दिएको छ ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेको भन्दै भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपु¥याउन भनेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको बताए ।

‘स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ । छानविन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा गरेर छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुदैन र यो स्वीकार्य पनि छैन,’ उनले भने ।

त्यस्तै बैठकले रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतराका साथै संविधान र कानुनको पालना गर्न आग्रह गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंमा पक्राउ परेका उनी हाल कास्की प्रहरीको हिरासतमा छन् । सभापति पक्राउ परेपछि रास्वपाले शनिबारदेखि नै पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया