एमालेको प्रष्टीकरण- जग्गा दान लिनु अनुचित होइन
अखबार टुडे
प्रकाशित:
२०८१, ४ कार्तिक

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनवहबादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अवाञ्छित र अनुचित नभएको जनाएको छ । महासचिव शंकर पोखरेलले एमालेलाई दान दिएको जग्गा र व्यवसायी मिनबहादुर गुरुङबिच कुनै स्वार्थ बाझिने कारणसमेत नभएको स्पष्ट पारे ।

साथै, पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठक यस्तो ठहर गरेको महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

‘राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत विपत्तिमा भएको क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदाखेरी एकजना व्यवसायीले म नेकपा एमालेले बेहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु र सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका हिसाबले पनि लिनुपर्छ भन्ने लाग्दछ’, महासचिव पोखरेलको भनाइ छ ।

उनले महाविपत्तिका बेला भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हरेकको हुने भन्दै त्यो हक नेकपा एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने बताए । ‘त्यस अर्थमा एमालेले यो सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित अनुचित कुरा होइन । विपतका बेला संकटमा परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो । राज्यकै कुनै एक नागरिकले क्षतिमा सहयोग गर्ने सन्दर्भलाई स्वभविक रूपमा लिनुपर्दछ’, महासचिव पोखरेलले भने । जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ ।

महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने उनको भनाइ छ । उनले भने, ‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं ।’

प्रतिक्रिया