रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति
अखबार टुडे
प्रकाशित:
२०८१, ४ कार्तिक

पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

यही गएको शुक्रबार काठमाडौंमा पक्राउ परेका सभापति लामिछानेलाई आइतबार जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको थियो । अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो । संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो ।

हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । सहकारीको बचत अपचलन सम्बन्धमा छानविन गर्न बनेको संसदीय समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ गैरकानुनी रुपमा लगेको र उक्त रकम खर्च गर्न लामिछानेको हात रहेको निष्कर्ष निकालेको थियो । सहकारी पीडितले लामिछानेविरूद्ध गत वर्ष माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया