इन्धनको मूल्य घट्यो, कुन ठाउँमा कति ?
अखबार टुडे
प्रकाशित:
२०८१, १४ आश्विन

काठमाडौं । चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ। निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । सो क्षेत्रमा अब पेट्रोलको भाउ १५५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४४ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १४७ रूपैयाँ पर्नेछ ।

त्यस्तै हवाइ इन्धन आन्तरिकमा निगमले प्रतिलिटर ६ रूपैयाँ घटाएको छ । अन्तर्राष्ट्रियमा भने प्रति किलोलिटर अमेरिकी डलर ४५ कम गरेको छ ।

प्रतिक्रिया