काठमाडौं उपत्यकाका नदीको बाढीले खतराको तह पार गर्‍यो, कहाँ कति पानी पर्‍यो ?
अखबार टुडे
प्रकाशित:
२०८१, ११ आश्विन

काठमाडौं । निरन्तर अविरल वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।

विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् ।

शुक्रबार देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ । लगातार पानी पर्दा कोशीका झापा, मोरङलगायतका केही स्थान डुबानमा पर्न थालेका छन् ।

शुक्रबार चन्द्रगढी विमानस्थलमा २९७.४, अनारमनीमा २३४.८, इलामको कन्काइमा २६८.४, झापाकोक न्यामा १९२.४, झापाको अर्जुनधारामा १५६, इलामको बरफल्याङमा १५३.४, झापाको गौरादहमा २३९.२ मिलिमिटर वर्षा भएको छ । मोरङ विराटनगर विमानस्थलमा १९४ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै उदयपुरको सुन्दरपुरमा १५३.६, सप्तरीको रुपनी बजारमा १४४ मिलिमिटर वर्षा भएको छ भने पाल्पाको अर्चलेमा १५७.२, पाल्पाकै जाल्पामा १५८.६, नवलपरासीको देउरालीमा १४२.६ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण काठमाडौँ छिर्ने मुग्लिन तथा टिस्टुङ पालुङ सडक अवरूद्ध भएको छन् ।

प्रतिक्रिया