
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ ।
अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जना अधिकृतलाई पोखरा पठाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले दुई जनाको टोली पोखरा आइपुग्ने बताए । उनले आज साँझ सिआईबीका दुई जना अधिकृत अनुसन्धानमा सघाउन पोखरा आइपुग्ने बताए ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी कास्की पु¥याइएको थियो ।
सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
