दुर्गा प्रसाईँलाई तीन थुनामा राख्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०८१, ६ आश्विन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनु्मति दिएको छ । आफूलाई सामाजिक अभियन्ता समेत बताउने प्रसाइँलाई नेपाल प्रहरीको साइबर ब्यूरोले आइतवार अपराह्न भक्तपुर निवासबाट पक्राउ गरेको थियो ।

अदालतले प्रसाईँलाई तीन दिन थुनामा राख्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाइँ रक्तचाप उच्च देखिएका कारण उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

अवस्थीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा प्रसाईँलाई पक्राउ गरिएको बताएका छन् । पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँ आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका छन् । प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले केही दिनअघि नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । आफूलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएपछि प्रसाईँ घरबाहिर ननिस्किएको बताइएको छ । प्रहरीले उनलाई मध्यपुर थिमीमा रहेको उनको घरभित्रै प्रवेश गरेर आइतवार अपराह्न नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया