काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु
अखबार टुडे
प्रकाशित:
२०८१, ३० भाद्र

काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा आइतबार बिहान इन्द्रध्वाज उठान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा लिने गरिन्छ । यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया