जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८१, २९ भाद्र

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एकताबद्ध भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताएका छन् । शनिबार मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादीको विद्रोहले ल्याएको व्यवस्थमा बसेर माओवादीलाई नै अपमानित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी समेत दिए । पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले विचौलिया र दलालहरु मिलेर संख्याको बलमा सत्यको गला रेट्ने काम भइरहेको पनि बताए । जनताले दलाल र भ्रष्टहरुका विरुद्ध लाग्नुपर्ने समय आएको उनको भनाइ छ ।

साथै, उनले आगामी निर्वाचनपछि माओेवादी नयाँ ठाउँमा पुग्ने दाबी गरे । प्रचण्डले भने, ‘अहिले म जीवनको उत्तरार्धतिर छु । किन हो मलाई अलि बढी जोस आउन थालेको छ । भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु । मलाई अरु केही गर्नु छैन ।’

उनले आफूलाई भरोषा रहेको बताउँदै भने, ‘आउने निर्वाचनमा जनताले हामीलाई फेरि सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउँदा र शक्तिशाली भएर आउँदा मात्रै देशमा जनताले खोजेको परिवर्तन साकार हुनसक्छ ।’

प्रतिक्रिया