मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०८१, १५ भाद्र

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएका छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

\यस्तै, आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया