‘योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ’
अखबार टुडे
प्रकाशित:
२०८१, १४ भाद्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।
जीवन विज्ञान संस्थाद्वारा संघीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने बताए । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे ।

‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ ।’

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराएका थिए ।

सरकारले योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मुलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माणका गर्ने नीति लिएको थियो । सोही कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीदेखि सांसदहरूलाई ‘स्वजागरण’ कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया