
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेकखर्क पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोरा रहेको प्रहरीले जनाएको छ ।
चण्डिकाको घरबाट एक बालिकालाई घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा परी ११ जना सम्पर्कविहीन छन् ।
पहिरोले घर बगाउँदा ९० वर्षकी पुड्की पहरी, ४५ वर्षीय उर्मिला पहरी, १५ वर्षका सन्तोष पहरी, १६ वर्षका विज्ञान पहरी, १५ वर्षका सन्दीप पहरी बेपत्ता भएका छन् । त्यस्तै करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी पनि बेपत्ता भएका छन् ।

यसैगरी पहिरोमा पुरिएर गोमा पहरीको घरमा रहेका ३ वटा भैँसी र १० वटा बाख्रा, उर्मिला पहरीका एउटा भैँसी, तीनवटा गाई र १८ वटा बाख्रा तथा कर्णबहादुर पहरीको एउटा बाख्रो पनि बेपत्ता भएका छन् ।

पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र उनका अन्दाजी दुई वर्षका छोरा आमुस मगरको ज्यान गएको छ । घटनास्थलमा बिहानैदेखि प्रहरी तथा स्थानीयले खोज उद्धार गरिरहेका छन् । -तस्बिरहरु शोसल मिडियाबाट
