काठमाडौं । सरकारले शोसल मिडिया टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तैपनि खुल्न भने केही समय लाग्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकार २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । करिब १० महिनापछि सरकारले टिकटक खुल्ला गर्ने निर्णय गरेको हो ।
बिहीबार मन्त्रिपरिषद बैठकपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध विभिन्न चार शर्तसहित खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ ।
यस्तै सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने जस्ता सर्त राखेको उनले बताए ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने उनको भनाइ छ ।
मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए ।
