सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, सतर्क रहन अनुरोध
अखबार टुडे
प्रकाशित:
२०८१, ३२ श्रावण

सोलुखुम्बु । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे)मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइनसकेको बताइन् ।

यता, स्थानीय थामे खोला (दूधकोशीको सहायक खोला)मा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।
०००
सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई अनुरोध
भीषण बाढी आएपछि सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

‘सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पु¥याएको हुन सक्नै भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।

यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘थुलुङ गाउँपालिका स्थित दूधकोशी नदी आसपास क्षेत्रहरू अति जो रहेको हु खिममा रहेको हुँदा दूधकोशी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सचेत रहन र सुरक्षित स्थानमा बस्नुहुन थुलुङ दूधकोशी गाउँपालिका हार्दिक अपिल गर्दछ ।’

आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ ।

प्रतिक्रिया