काठमाडौं । युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको जनाएको छ । रूससँग लामो समयदेखि युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी युद्ध लडिरहेको छ ।
अहिलेसम्म युक्रेनले कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था अल्जजिराले जनाएको छ । कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन् ।
समाचारमा जनाइएअनुसार २८ वटा गाउँ युक्रेनीको कब्जामा रहेको, १२ जना नागरिकको मृत्यु र एक लाख २१ हजार नागरिक विस्थापित भएको ब्रिफिङ गभर्नरले गरेका छन् । पुटिनले भने यसको उचित जवाफ फर्काउने बाचा गरेका छन् । त्यसका लागि उनले रुसी सेनालाई निर्देशन दिइसकेका छन् ।
कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई त्यस क्षेत्र छाड्न अनुरोध गरेको छ । त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको बीबीसीले उल्लेख गरेको छ ।
बेलगोरोडका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले सोमबार टेलिग्राममा लेख्दैसुरक्षाका लागि स्थानन्तरण गर्न भनेका हुन् । युक्रेनी सेना प्रमुख ओलिक्सान्द्र सिर्स्कीले कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा रहेको बताएका छन् ।
युक्रेनले अहिले सबैभन्दा अब्बल सैनिकहरू प्रयोग गरी रूसको क्षेत्रमा पठाएको बताइएको छ ।