युनुस नेतृत्वको सरकारलाई ‘शक्तिहीन’को संज्ञा
अखबार टुडे
प्रकाशित:
२०८१, २७ श्रावण

नयाँदिल्ली, (एजेन्सी) । बंगलादेश पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आइतबार नयाँदिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बङ्गलादेशमा अन्तिरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाएका छन् । उनले निर्वाचनबिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री पदबाट राजीनामा दिई ७६ वर्षीया शेख हसिना गत सोमबार भारत निर्वासित भइकी थिइन् । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

उनी भारत आएपछि सेनाले उनको राजिनामाको घोषणा गरेको थियो र त्यसपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ ।

अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्वसरकारका सल्लाहकार ५३ वर्षीय सजीब वाजेद जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिएका छन् ।

उनले एएफपीलाई वासिङ्टनबाट दिएको अन्तर्वातामा भनेका छन्, ‘अहिले बङ्गलादेशमा भीडको शासन छ । प्रदर्शनकारीको मागमा प्रधान न्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ ।’

उनले भने, ‘यदि भोलि भीडले ‘हामी अन्तरिम सरकारमा रहेका व्यक्तिलाई परिवर्तन गर्न चाहन्छौं’ भन्यो भने उनीहरूलाई परिवर्तन गर्नुपर्छ ।’ युनुसले ‘केही महिनाभित्रै चुनाव होस् भन्ने चाहेको’ बताउँदै आएका छन् । तर वाजेदले चुनावमा ढिलाई भए अराजकता बढ्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘जनताको वैधानिकता र साँचो अधिकार भएको वैध सरकारमा फर्कन निर्वाचन गराउनु उनीहरूको हितमा छ । अन्यथा, यो केवल अराजकतामा परिणत हुनेछ ।’

हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गरेकी थिइन् । तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए ।

हसिना भागेपछि लाखौँको सङ्ख्यामा रहेका उनको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ र पार्टी कार्यालयमा आगजनी गरिएको छ । तर वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्रको राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गरे ।

‘हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्’ उनले भने, ‘अवामी लिगबिना बङ्गलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन । कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।’

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरूले वर्षौंको दमनबाट ट्टेको सङ्गठनको पुनर्निर्माण गरिरहेका छन् । बीएनपीले सोमबारदेखि ढाकामा शान्तिपूर्ण जन ¥याली आयोजना गरिरहेको छ । वाजेदले बिएनपी र आवामी लिग मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया