काभा वुमन्स नेसन्स लिग : नेपाल उपविजेतामै सिमित
अखबार टुडे
प्रकाशित:
२०८१, २३ श्रावण

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो ।

पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना पुनः चकनाचुर भएको छ । सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो ।

लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो । खेलको पहिलो सेटमा नेपालले अग्रता लिएको थियो ।

नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो ।

तेस्रो सेटमा नेपालले स्वभाविक लयमा फर्किंदै भारतलाई २५–२२ ले पराजित गरेको थियो । तर, चौथो सेटमा आफ्नो जितको लय गुमाउँदै २१–१८ ले सेट भारतलाई सुम्पन बाध्य भयो । त्यसपछि अन्तिम सेटमा भारत पूरै हावी हुन पुग्यो । सुरुदेखि नै अग्रता लिएको भारतले अन्तिमसम्म नेपाललाई पुनरागमनको मौका दिएन । र, सेट १५–५ ले जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।्

प्रतिक्रिया