कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
संघमा कांग्रेस र एमालेको सत्ता समीकरण हुँदा सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोहीअनुसार एमालेको समर्थनमा कांग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दलमात्रै मिल्दा पनि बहुमत पुग्छ । यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।