सुदुरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दोहोरिँदै कमलबहादुर शाह
अखबार टुडे
प्रकाशित:
२०८१, २० श्रावण

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयवधि आइतबार साँझ ५ बजे सकिँदैछ । सोहीअनुसार नयाँ गठन गर्ने कांग्रेस-एमालेले तयारी गरेका हुन् ।

संघमा कांग्रेस र एमाले सत्ता समीकरण हुँदा सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोहीअनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दलमात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझसम्म यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।

सुदुरपश्चिम कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने भएका छन् । उनी यसअघि पनि मुख्यमन्त्री बनेका थिए । यसपटक पनि कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडि बढाउन निर्देशन दिइसकेका छन् ।

कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठकमा यस विषयमा ठोस निर्णय हुने कांग्रेस नेताहरू बताउँछन् । संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा टुङ्गो लगाउने जनाइएको छ । उक्त बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।

एमालेले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गरेको छैन । यसअघि दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की मन्त्री थिए । पुराना तीनजना मन्त्रीमध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमाले नेताहरुको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीले भने आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुंगो लगाइसकेको छ । नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन् । आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया