
पोखरा । गण्डकीका यातायात व्यवसायीहरु राइड सेयरिङको विरोधमा उत्रिएका छन् । उनीहरुले आजदेखि गण्डकीमा सार्वजनिक यातायात बन्द गर्ने घोषणा रेका छन् ।
यहाँका यातायात व्यवसायीले राइड सेयरिङको विरोध गर्दै शनिबार सरकारलाई ध्यानाकर्षण गराएका थिए । शनिबार रातिसम्मको अल्टिमेटम दिएका उनीहरुले आफ्ना माग सुनुवाइ नभएको भन्दै आजदेखि गाडी घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए ।
माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने उनले बताए । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो । तर, कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएको थिएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो ।
तर, त्यसअघि नै यातायात व्यवसायीले बैठकको एजेन्डा थाहा पाएपछि चर्को विरोध जनाएका थिए । बिहीबार उनीहरुले पोखराका सडकभर गाडी उतारेर प्रदर्शन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था सचिव शंकर पण्डित र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए ।
सरकारले व्यवसायीका मागमा अहिलेसमम केही बोलेको छैन । भौतिक मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले व्यवसायीका माग सम्बोधन गर्न नसकिने बताएका छन् । उनले भने, ‘आन्दोलन गर्न मैले पठाएको होइन, म किन बोल्नपर्यो ?’उनले बाइकर्सहरुले पनि कमाउन पाउनुपर्ने बताए ।
मन्त्री मनाङेको अभिव्यक्तिलाई लिएर महासंघले शनिबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । महासंघका अध्यक्ष केदार पौडेलले जारी गरेको विज्ञप्तिमा ‘गैर जिम्मेवार अभिव्यक्ति तुरुन्त फिर्ता लिई यातायात व्यवसायीका माग सम्बोधन गर्न माग’ गरिएको छ । मन्त्री मनाङ्ेको अभिव्यक्तिले यातायात व्यवसायीको आन्दोलनमा घ्यू थप्ने काम गरेको छ । सार्वजनिक यातायात बन्द गर्दा सर्वसाधारणलाई पनि सास्ती भएको छ ।
