
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानले ‘मिस हङकङ नेपाल-२०२३’ अञ्जना पुनलाई सद्भाव राजदूत नियुक्त गरेको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच अञ्जनालाई सद्भावना दूतको प्रमाण पत्र प्रदान गरेको छ ।
अञ्जनालाई प्रतिनिधिसभा सदस्य (सांसद) रेखा यादव र प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरेका थिए । सद्भावना दूतको प्रमाण पत्र ग्रहण गरेपछि अञ्जनाले खुसी व्यक्ति गर्दै आफ्नोतर्फबाट प्रतिष्ठानलाई गर्न सक्ने साथ र सहयोग सधैं रहने बताइन् । उनले भनिन्, ‘विभिन्न सामाजिक कार्यमा काम गर्दै आएको भएपनि सद्भावना दूत बनेको चाहिँ पहिलोपटक हो । क्यान्सर निवारण प्रतिष्ठान जस्तो संस्थाले मलाई सद्भावना दूत बनाएकामा संस्थाप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारी वहन गर्न पूर्ण प्रतिवद्ध रहने छु ।’

सांसद यादवको आथित्यमा आयोजित कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पा, लाफा फाउण्डेशनका अध्यक्ष एवं गायिका चन्द्रज्योति आले मगर, बरिष्ठ -याप गायक निर्णय श्रेष्ठ ‘एनएसके’, ‘मिस हङकङ नेपाल’का अर्गनाइजर मनिष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
उनीहरुले नेपाल क्यान्सर निवारण प्रतिष्ठान जस्तो संस्थाको सद्भावना दूत नियुक्त भएकामा बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै सांसद यादवले भनिन्, ‘सद्भावना दूत नियुक्त भएको अञ्जना पुनलाई बधाई तथा आफ्नो जिम्मेवारी कुसलतापूर्वक वहनका लागि शुभकामना दिन चाहन्छु ।’
नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर रोग नियन्त्रण तथा रोकथामबारे जनचेतना कार्यहरु गर्दै आएको छ । साथै, क्यान्सर रोग उपचारका सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको अध्यक्ष हरि गोपाल प्रधानले बताए ।
पोखराकी अञ्जनाले हङकङलाई कर्मथलो बनाउँदै आएकी छन् । उनी यस पटक ‘मिस नेपाल–२०२४’मा प्रतिस्पर्धा गर्न नेपाल आएकी हुन् । उनी ‘मिस नेपाल’को उपाधि आफ्नो पोल्टामा पार्न दाउमा छिन् । र, उनी विस्वस्त पनि छिन् । उनी भन्छिन्, ‘मिस नेपालको ताज जित्छु भन्नेमा म विस्वस्त छु किनकि, ममा आत्मविश्वास छ ।’
