
चितवन । नारागणगढ–मुग्लिन सडक खण्डस्थित सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली आइतबार बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।
बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।
