‘प्रेम प्रस्तावको मलाई विश्वास नै लाग्दैन’
अखबार टुडे
प्रकाशित:
२०८१, ५ श्रावण

लोकदोहोरी क्षेत्रकी चर्चित मोडल हुन्, जुना गुरुङ । पछिल्लो समय रिलिज हुँदै आएका अधिकांश लोकदोहोरी तथा लोकगीतका भिडियोमा जुनाको छमछमी देख्न सकिन्छ । पाँच वर्षदेखि मोडलिङ गर्दै आएकी जुनाले हालसम्म दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । तर, उनी आफूलाई ‘मोडल’ भन्न रुचाउँदिनन् ।

जुना भन्छिन्, ‘मोडल बन्छु भनेर सोचेकै थिइन । सिलाइबुनाई सिक्नलाई भनेर काठमाडौं आएकी थिएँ । र, गाउँ फर्केपछि टेलर खोलेर बस्ने सोच बनाएकी थिएँ ।’ तर, अहिले मोडलिङबाट नाम र दाम दुवै कमाउन थालेपछि भने उनी खुसी छन् । गोरखाको विकट गाउँ आरुघाट, पात्लेकी जुना भन्छिन्, ‘मेरो गाउँ एकदमै विकट छ । एउटा विकट गाउँबाट आएर यो स्थानसम्म आइपुग्दा खुसी छु ।’ जुना अभिनीत ‘कपालु कोरेर’, ‘पानपाते ठूली’, ‘हातमा घडी छ’जस्ता दर्जनौँ भिडियो लोकप्रिय छन् । उनै मोडल जुना गुरुङसँग केही समयअघि गरिएको कुराकानी :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
ठिकठिकै भन्नुप¥यो । कामहरु पाइरहेकी छु । फुर्सदमा बस्नु परेको छैन । र, अति नै व्यस्त पनि छैन ।

लोकदोहोरीमा मात्र मोडलिङ गर्नुहुन्छ कि मोर्डन गीतमा पनि गर्नुहुन्छ ?
सुरुका दिनमा चाहिँ मोर्डल गीतहरुमा पनि मोडलिङ गरेँ । तर, केही समययता भने लोकदोहोरी र लोकगीतहरु मात्र गर्दै आएकी छु ।

मोर्डन गीतमा किन नगर्नुभएको नि ?
म गाउँकी केटी हुँ । मलाई मोर्डन रोल सुहाउँदैन । त्यसैले लोकदोहोरी र लोकगीतहरु मात्र गर्न थालेकी हुँ । लोकदोहोरी गीतमा मलाई सुहाउँछ पनि । आफूलाई जेमा फिट हुन्छ, त्यही त गर्ने हो नि ।

आधुनिक वा मोर्डन भूमिका सुहाउँदैन भनेर आफैंलाई लागेको हो ?
हो, म त्यस्तै छु नि । गोरखाको सिम्जुङ गाविस, पात्लेमा जन्मेहुर्केकी हुँ । जुन गाउँ एकदमै विकट छ । विकट गाउँमा जन्मिएकी म कसरी मोर्डन हुन सक्छु र ? त्यही भएर सुहाउँदो भूमिका नै गर्दै आएकी छु ।

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
पाँच वर्ष भयो । त्यसबीचमा कोभिड महामारीका भएको लकडाउनले झण्डै दुई वर्ष खाली बस्नुप¥यो । कोभिड महामारी सामान्य अवस्थामा आएपछि भने मोडलिङ कार्यमै व्यस्त छु ।

मोडलिङमा प्रवेश कसरी भयो ?
मोडलिङमा लाग्छु, मोडल बन्छु भनेर त सोचेकी थिइनँ । टेलरिङ (सिलाइबुनाइ) सिक्छु अनि गाउँ फर्केर टेलर खोलेर बस्छु भन्ने सोचले पहिलोपटक काठमाडौं आएकी थिएँ । काठमाडौं आएपछि नृत्य सिक्ने सोच आयो । म गाउँमा हुँदै अलिअलि डान्स गर्थे । डान्समा रुची पनि थियो । त्यसैले आफूलाई डान्समा निखारौँ भनेर डान्स सिक्न थालेँ । त्यसरी डान्स सिक्न जाँदाखेरी नै गाउँतिरकै एकजना दाईले म्युजिक भिडियोका लागि प्रस्ताव गर्नुभयो । त्यसपछि नै मोडलिङ सुरु गरेकी हुँ ।

पहिलोपटक मोडलिङ गर्नुभएको गीत कुन हो ?
‘पिरतीको कहानी’ बोलको लोकदोहोरी गीत हो । तर, उक्त भिडियो खाशै चलेन ।

तपाइँ छोटो समयमै मोडलिङमा चर्चित हुनुभयो नि, होइन र ?
चर्चित त के भनौँ, कामचाहिँ धमाधम पाएँ । त्यसमा खुसी छु । पहिलो भिडियो गरेको मितिले यो क्षेत्रमा लागेको पाँच वर्ष भयो । तर, मोडलिङ सक्रिय भएर लागेको चाहिँ तीन वर्ष भयो किनकि त्यसबीचमा झण्डै दुई वर्ष कोभिडले गर्दा काम ठप्पजस्तै भयो ।

दुई सयभन्दा बढी म्युजिक भिडियो गरिसक्नुभयो, तीमध्ये चलेका केही भन्नुपर्दा ?
पछिल्लो समय मैले काम गरेका अधिकांश भिडियो राम्रै गएको छ । अति हिट नभएपनि दर्शक तथा श्रोताले रुचाउँदै आएका छन् । त्यसमा पनि केही भन्नुपर्दा ‘कपालु कोरेर’, ‘पानपाते ठूली’ र ‘हातमा घडी छ–२’ हुन् । यी भिडियोहरुलाई धेरै रुचाइएको छ ।

मोडलिङ क्षेत्रको राम्रो पक्ष के हो ?
मोडलिङ वा कलाकारिता पनि एउटा पेसा नै हो । मोडलिङमा संघर्ष र मिहिनेत गर्न सकियो भने सफलता मिल्यो भने नाम र पैसा दुवै कमाउन सकिन्छ । तर, अरु क्षेत्रमा पैसा कमाए पनि नाम हुँदैन ।

तपाइँलाई फिल्ममा अभिनय गर्ने रुची छैन ?
म अलिक कम बोल्छु । त्यसैले फिल्म अभिनय गर्न सक्दिनँ जस्तो पनि लाग्छ । फिल्मका लागि अफर नआएको पनि होइन । केही गुरुङ फिल्ममा अफर पनि आएको थियो । तर, गर्न सक्दिनँ कि भनेर अस्वीकार गरेँ । अबचाहिँ मलाई सुहाउँदो भूमिका भएको फिल्ममा अफर आयो गर्ने गर्ने सोच छ ।

मोडलिङ क्षेत्र प्रेम–रामोन्ससँग जोडिएको पाइन्छ । रियललाइफमा तपाइँलाई प्रेम प्रस्ताव कतिको आउँछ ?
–मन पराउँछु भन्नेहरु त कति आउँछन् आउँछन् । कसैले यसो गर्छु, उसो गर्छु भन्छन् । विहे गरौँ भन्नेहरु समेत आउँछन् । एउटा भए पो पत्याउनु । धेरैको प्रस्ताव आएपछि कसैको विश्वास लाग्दैन । त्यसैले अहिलेसम्म कसैको प्रेम स्वीकारेकी छैन ।

प्रेम र घरजम गर्ने उमेर त हो नि, होइन र ?
तर अहिलेसम्म मैले प्रेम र विवाहबारे केही सोचेकी छैन । अझै केही वर्ष मोडलिङमै रमाउने सोच छ । समय आएपछि घरजमतिर सोच्नुपर्ला ।

प्रतिक्रिया