
काठमाडौं । चितवनको नारायणघाट मुग्लिन सडक खण्डको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १८ जनाको शव फेला परेको छ ।
दुर्घटनाको आज बुधबार छैटौँ दिनसम्ममा १८ जनाको शव भेटिएको हो । भेटिएका शवमध्ये बुधबार बिहानसम्म १४ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ४ जना पुरुषको सनाखत बाँकी रहेको छ । उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेको छैन ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा दुई बस बेपत्ता भएका थिए ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुईवटा बसमा ६५ जना यात्रु सवार रहेको यसअघि नै चितवन प्रहरी बस टिकट काउन्टर र सम्पर्कमा आएका आफन्तबाट पुष्टि गरेको थियो ।
उक्त दुर्घटनामा तीन जना हाम्फालेर बाँच्न सफल भएका थिए । उनीहरु उपचारपछि सामान्य अवस्थामा फर्किसकेको प्रहरीले जनाएको छ ।


