
चितवन । नारायणी नदी किनारमा दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)कोे गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा शनिबार दिउँसो दुईजना पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेको हो । नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको माछा मार्न गएकाले स्थानीयले देखेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए । पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले बताए । यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–२८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो ।
मुग्लिन नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलताल शुक्रबार बिहान लेदोसहितको पहिरोले दुईवटा बससँगै कम्तीमा ५२ यात्रु त्रिशुलीमा बगाएको खसेको थियो ।
तीमध्ये ३ जना पौडिएर ज्यान बचाउन सकेका छन् । बाँकीमध्ये शनिबार बिहान एक जनाको शव र दिउँसो २ जानको शव भेटिएको हो । तैपनि दुईजनाको शव बसका यात्रु हो वा होइन भन्ने यकिन भइसकेको छैन । अरु यात्रुको घटना भएको २ दिनसम्म पनि अत्तोपत्तो छैन । बस खसेको स्थानमा बस खसेको कुनै निशाना छैन ।
बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध प्रविधिको सहयोगले खोजी गरे पनि अहिलेसम्म कुनै प्रगति हात परेको छैन । सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरे । तर कुनै उपलब्धी हासिल भएन ।
